१३) जब यिनीहरूलाई भनिन्छः कि अन्य मानिसहरूले ईमान ल्याए जस्तै तिमीहरू पनि आस्थावान बन । तब भन्दछन् के हामीले पनि ती मूर्खहरू जस्तै आस्था राखौं ? खबरदार ! यी नै मूर्ख हुन् तर यिनीहरूलाई थाहा छैन ।
१४) र, जब यिनीहरूको भेट, ईमानवालाहरूसँग हुन्छ त भन्दछन् हामी पनि आस्थावान हौं र जब आफ्ना ठूला बडाहरू कहाँ पुग्दछन् त भन्दछन् कि हामी त तिम्रो साथमा छौं, हामी त उनीहरूसँग मात्र हाँसोठट्टा गर्दछौं ।
१६) यी त्यस्ता मानिस हुन् जसले सत्य मार्गको सट्टा पथभ्रष्टतालाई किनेका छन्, यिनीहरूको व्यापारमा नकेही नाफा भयो, न त उनीहरूलाई सत्यमार्गको प्राप्ति नै भयो ।
१७) यिनीहरूको उदाहरण त्यस मानिस जस्तै छ, जसले आगो बाल्यो र आगोको प्रकाश वरिपरि फैलिने बित्तिकै अल्लाहले तिनीहरूबाट प्रकाशलाई खोसिहाल्यो र तिनलाई अँध्यारोमा छाडिदियो, जसलेगर्दा तिनीहरूले केही देख्दैनन् ।
१९) अथवा तिनीहरूको उदाहरण आकाशबाट हुने त्यो बर्षा जस्तो छ, जसमा अँध्यारो, गर्जन र चट्याङ्ग हुन्छ, बिजुली गर्जनुको कारण मृत्युको भयले कानमा औंला हाल्दछन् । र अल्लाहले काफिरहरलाई घेर्ने छ ।
२०) (लाग्दछ) चट्याङ्गले तिनीहरूको आँखाको (ज्योति) तुरुन्तै खोस्दै छ । जब चट्याङ्गले तिनीहरूमाथि प्रकाश छर्दछ तब तिनीहरू हिंड्डुल गर्दछन्, र जब अँध्यारो हुन्छ तब उभिरहन्छन् । र यदि अल्लाहले चाहेमा तिनीहरूका कान र आँखालाई निष्कृय गरिदिन्छ । निःसन्देह अल्लाह हरेक कुरामाथि सर्वशक्ति सम्पन्न छ ।
२२) जसले तिम्रो लागि पृथ्वीलाई ओछ्यान र आकाशलाई छत बनायो र आकाशबाट वर्षा गराएर त्यसद्वारा तिम्रो आहारको निम्ति थरि–थरिका फल–फूल उत्पादन गर्यो । खबरदार ! जानी–जानी कसैलाई अल्लाहको साझेदार नबनाऊ ।
२३) हामीले आफ्ना सेवकमाथि जे उतार्यौं, त्यसमा तिमीलाई यदि शंका छ र तिमी साँचो भए त्यस्तै एउटै (सूरह) बनाएर देखाऊ, र तिमीले अल्लाह बाहेकका आफूलाई मद्दत गर्नेहरूलाई बोलाइल्याऊ ।
२४) तर यदि तिमी गर्न सकेनौं भने र तिमी कहिल्यै पनि गर्न सक्दैनौं (तसर्थ) त्यस आगोसंग डराऊ जसको इन्धन मानिस र ढुङ्गाहरू हुन् । जुन नास्तिकहरूका लागि तयार गरिएको हो ।
२५) र, आस्था राख्ने र असल काम गर्ने मानिसहरूलाई स्वर्गको शुभसमाचार दिनु जसमुनि नहरहरू बगिराखेका छन् । जब तिनीहरूलाई फलको आहार दिइने छ । तब तिनले भन्नेछन्, यी त तिनै हुन् जुन हामीलाई पहिला दिइएको थियो । ती मिल्दो जुल्दो फल हुनेछन् र त्यहाँ तिनीहरूका लागि पाक–पवित्र पत्नीहरू हुनेछिन् र तिनीहरू सधैं त्यहीं बस्नेछन् ।
२६) निःसन्देह अल्लाहले कुनै उदाहरणको वर्णनबाट लाज मान्दैन चाहे त्यो लामखुट्टेको होस् अथवा त्यो भन्दा सानो चीजको नै किन नहोस् । आस्थावानहरूले त यसलाई आफ्ना पालनकर्ताको तर्फबाट सम्झन्छन् र काफिरहरूले भन्दछन् कि यस उदाहरणबाट अल्लाहको के प्रयोजन छ ? यसद्वारा धेरैलाई पथविचलित गर्दछ र अनेकौंलाई सत्यको बाटोमा ल्याउँछ र पथविचलित त उसले अवज्ञाकारीहरूलाई मात्र गर्दछ ।
२७) जिन मानिसहरूले अल्लाहसँग गरेको दृढ प्रतिज्ञालाई भंग गर्दछन् र जसलाई (नाता) अल्लाहले जोडिराख्ने आदेश गरेको छ, त्यसलाई बिच्छेद गर्दछन्, र पृथ्वीमा उपद्रव गर्दछन्, यिनीहरूले नै हानि भोग्ने छन् ।
२८) तिमीले अल्लाहलाई कसरी नकार्दछौ ? जबकि तिमी मृत थियौ, त उसले तिमीलाई जीवित पार्यो फेरि उसैले मार्नेछ, फेरि जीवित पार्ने छ, अनि मरेपछि उसैतिर फर्काइनेछौ ।
३०) र जब तिम्रो पालनकर्ताले फरिश्ताहरूसंग (स्वर्गदूतहरूसंग) भन्यो म पृथ्वीमा खलिफा (अर्को प्राणी) नियुक्त गर्नेवाला छु, त तिनीहरूले भने, के तिमी यस्तोलाई (मानिस) सृजना गर्नेछौ, जसले पृथ्वीमा उपद्रव र रक्तपात गर्नेछ ? जबकि हामी तिम्रो स्तुति र पवित्रताका गुणगान गरिराख्दछौं । (अल्लाहले) भन्योः जे म जान्दछु, तिमी जान्दैनौ ।
३२) तिनीहरू सबैले भनेः हे अल्लाह तिमी पवित्र छौ । तिमीले जेजति ज्ञान हामीलाई प्रदान गरेका छौ, त्यस बाहेक हामीलाई केही थाहा छैन । निःसन्देह तिमी सर्वज्ञाता र तत्वदर्शी छौ ।
३३) अल्लाहले आदमलाई आदेश दियो, ‘‘तिमीले ती कुराहरूको नाम भन । जब उनले ती कुराहरूको नाम भनिसके तब अल्लाहले भन्यो, के मैले तिमीहरूसित (पहिलानै) भनेको थिएन कि आकाशहरू र पृथ्वीका सारा अदृश्य कुराहरूलाई म नै जान्दछु र जे तिमी प्रकट गर्दछौ, अथवा लुकाई राख्दछौ
(सबै) मलाई थाहा छ ।
३५) र हामीले भन्यौं, हे आदम ! तिमी र तिम्रो पत्नी (हव्वा) स्वर्गमा बस र जे जहाँबाट इच्छा भए खाऊ तर यस रुख नजिक पनि नजानु अन्यथा तिमी अत्याचारी हुनेछौ ।
३६) तर शैतानले तिनीहरूलाई विचलित गराएर त्यहाँबाट निष्कासित गराई नै हाल्यो, र हामीले भन्यौं स्वर्गबाट झरिहाल तिमी एक अर्काको शत्रु हौ, र तिमीहरूलाई पृथ्वीमा एक निश्चित समयसम्म बस्नु र फाइदा लिनु छ ।
३७) (अनि) आदमले आफ्नो पालनकर्ताबाट केही कुरा सिक्नुभयो अनि अल्लाहले उहाँको तौबा (प्रयाश्चित)लाई स्वीकार गर्यो । निःसन्देह उही क्षमादाता (र) असीम दयालु हो ।
४०) हे यअ्कूबका सन्तति ! मेरो त्यस वरदानको सम्झना गर, जुन मैले तिमीहरूलाई प्रदान गरें र मेरो संकल्पलाई पूरा गर । म तिम्रो वाचा पूरा गर्नेछु र मसित मात्र डर मान ।
४१) र, जुन किताबलाई मैले तिम्रा ग्रन्थहरूको पुष्ट्याईको लागि उतारेको छु त्यसलाई सत्य मान यसका साथै तिमी नै प्रथम काफिर नबन र मेरा आयतहरूलाई तुच्छ मोलमा नबेच र मसंग मात्र डर मान ।
४७) हे यअ्कूबका सन्तति ! मेरा ती उपकारहरूलाई स्मरण गर, जुन मैले तिमीहरूमाथि गरेको छु । र मैले तिमीहरूलाई संसारका अन्य मानिसहरूमाथि श्रेष्ठता प्रदान गरेको छु ।
४८) त्यस दिनसित डर मान्ने गर, जब कसैले कसैलाई फाइदा पुर्याउन सक्तैन र न कसैको सिफारिस स्वीकारिने छ र न कुनै बदला लिइनेछ र न उनीहरूलाई (कसैको) मद्दत प्राप्त हुनेछ ।
४९) र, जब हामीले तिमीहरूलाई फिरऔनीहरूबाट मुक्त गरायौं, जसले तिमीहरूलाई क्रुर यातना दिन्थे, तिम्रा छोराहरूलाई मारिदिन्थे र छोरीहरूलाई जीवित छाडिदिन्थे, यस मुक्तिलाई प्रदान गर्नुमा तिम्रो पालनकर्ताको ठूलो कृपा थियो ।
५४) र जब मूसाले आफ्नो जातिका मानिसहरूसित भने हे मेरा जातिवालाहरू तिमीहरूले बाछोलाई पूजेर आफूमाथि अत्याचार गरेका छौ तसर्थ आफ्नो स्रष्टातिर फर्क आफ्ना ज्यान (अपराधीका ज्यान) लाई आफनै हाथले हत्यागर । अल्लाह सामु तिम्रो भलो यसैमा छ, अनि उसले तिम्रो गल्ती माफ गरिदियो । ऊ निःसन्देह क्षमाशील र अत्यन्त दयालु छ ।
५५) र, जब तिमीहरूले मसासित भन्यौ, कि ! हामी आफू अगाडि प्रत्यक्ष रूपमा अल्लाहलाई नदेखुन्जेल कदापि विश्वास गर्दैनौं, त तिमीले हेर्दा हेर्दै तिनीहरूमाथि चट्याङ्ग खस्यो ।
५७) र, तिमीहरूमाथि हामीले बादलको छायाँ गरिदिएँ र तिम्रा लागि मन्न र सल्वा उतार्यौं । हामीले दिएको पवित्र कुराहरू खाऊ, र उनीहरूले हामीमाथि कुनै अन्याय गरेनन् बरु आफ्नै जिउमाथि अन्याय गर्दथे ।
५८) र, यादगर जब हामीले भन्यौं कि यस बस्तीमा जाऊ र यसमा जे थोक जहाँ कही छ इच्छा अनुसार खानु, पिउनु र ढोकामा नतमस्तक हुँदै प्रवेश गर्नु र ‘‘हित्ततुन’’ (हामी क्षमा चाहान्छौं) भन्नु, हामीले तिम्रा गल्तीहरूलाई क्षमा गरिदिनेछौं, र असल काम गर्नेहरूलाई अझ बढी प्रदान गर्नेछौं ।
६०) र, जब मूसाले आफ्नो समुदायको लागि पानी माँगे तब हामीले भन्यौं कि आफ्नो लठ्ठीले ढुङ्गामाथि हान, त्यसबाट बाह्रवटा मूल फूटे र सबै समूहले आ–आफ्नो घाट थाहा पाइहाले । अल्लाहले (प्रदान गरेको) कुरा खाऊ र पिऊ तर पृथ्वीमा उपद्रव गर्दै नहिंड ।
६१) र, जब तिमीले भन्यौ कि हे मूसा ! हामी एउटै प्रकारको आहारमा सन्तुष्ट हुन सक्तैनौं । तसर्थ आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि उनीले हाम्रो निम्ति साग–सब्जी, काँक्रा, गहुँ, मसुरो र प्याज (आदि) जो जमिनबाट उम्रन्छन्, हामीलाई देउन् । उनले भने कि ठुलो कुराको सट्टा सानो कुरा किन चाहन्छौ ? ठीक छ ! शहरतिर लाग, तिमीले चाहेको यी सबै कुरा पाउनेछौ । र, उनीहरूमाथि अपमान र अभाव लादियो र तिनीहरू अल्लाहको क्रोधका पात्र भए । यो यस कारणले भयो कि तिनीहरूले अल्लाहका आयतहरूलाई इन्कार गर्दथे र दूतहरूलाई अकारण मार्दथे । यो उनीहरूको अवज्ञा र ज्यादतीको परिणाम हो ।
६२) निःसंदेह मुसलमान होऊन्, यहूदी होऊन्, ईसाई होऊन् या पारसी जो अल्लाह र अन्तिम दिनमाथि आस्था राख्यो र असल काम गर्यो त्यस्ता व्यक्तिहरूलाई तिनका फल, अल्लाहकहाँ प्राप्त हुनेछ । र तिनीहरूलाई नत कुनै प्रकारको भयत्रास हुनेछ र न उदासी नै ।
६३) र यादगर जब हामीले तिमीसित वाचा लियौं र तूर पर्वतलाई तिमीमाथि ठड्यायौं कि जुन (पुस्तक) हामीले तिमीलाई प्रदान गरेका छौं, त्यसलाई बलपूर्वक समातिराख र त्यसमा जे छ, त्यो याद राख ताकि तिमी बाँच्न सक ।
६५) र तिमीलाई निःसन्देह ती मानिसहरूको जानकारी छ, जो तिमीमध्ये, शनिवारको दिनमा सीमा नाघिसकेका थिए र हामीले पनि उनीहरूलाई भनिदियौं, तिमीहरू अपमानित बाँदरहरू भइहाल ।
६७) र यादगर जब मूसाले आफ्नो समुदायसित भने कि अल्लाहले तिमीलाई आदेश दिंदाछ कि एउटा गाई बलि देऊ । तिनीहरूले भने, के तिमी हामीसँग ठट्टा गर्दछौ ? उहाँले भन्नुभयो कि यस्तो मूर्ख हुनुभन्दा म अल्लाहको शरणमा जान्छु ।
६८) तिनीहरले भने, हे मूसा आफ्नो पालनकर्तासित प्रार्थना गर्नुस् कि उहाँले हामीलाई स्पष्ट पारोस् कि त्यो (गाई) कस्तो हुनु पर्छः उहाँले (मूसाले) भन्नुभयो, पालनकर्ताको भनाई छ कि त्यो गाई नत बूढी होस् नत बाछी बरु दुईटैको बीचको होस् । तसर्थ तिमीहरू आदेश अनुसार गर ।
६९) तिनीहरूले फेरि भनेः आफ्नो पालनहारसँग प्रार्थना गर्नुस् कि हामीलाई यो पनि बताओस् कि त्यसको रङ्ग कस्तो हुनुपर्दछ । मूसाले भने, अल्लाहको भनाई छ कि त्यसको रङ्ग गहिरो पहेंलो होस् ताकि हेर्नेहरूलाई प्रसन्न गरोस् ।
७०) तिनीहरूले भने पालनकर्तासँग एकचोटी फेरि विन्ती गर्नुस् कि त्यो कस्तो हुनुपर्दछ । किनकि हामीलाई धेरै गाईहरू उस्तै–उस्तै देखिएका छन् । हामीलाई थाहा हुँदैन, अल्लाहले चाह्यो भने हामी सही बाटो लाग्ने छौं ।
७१) मूसाले भने, अल्लाहले भनिरहेछन् कि त्यो गाई खेत जोत्न र सिंचाईमा प्रयोग नगरिएको र हिष्ट–पुष्ट र बेदाग होस् । उनीहरूले भन्न थाले अब तिमीले सबै कुरा ठीक–ठीक भनिहालेका छौ । अर्थात् त्यो गाईलाई बलि दिए, यद्यपि तिनीहरू त्यस्तो गर्नेवाला थिएनन् ।
७२) र यादगर जब तिमीले एउटा मानिसको हत्या गर्यौ, अनि त्यसको (बारेमा) झगडा गर्न थाल्यौ, तर जुन कुरो तिमीले लुकाउन चाहन्थ्यौ, त्यो कुरा अल्लाहले प्रकट गर्न चाहन्थ्यो ।
७३) अनि हामीले भन्यौं कि यस गाईको एउटा टुक्राले हत्या गरिएको मान्छेलाई हानिदेऊ, (ऊ जीवित भइहाल्नेछ) यसरी नै अल्लाहले मुर्दाहरूलाई जीवित पारी तिमीलाई तिम्रा बुद्धिमानीका लागि आफ्नो चिन्हहरू देखाइरहेछ ।
७४) फेरि त्यसपछि तिम्रा हृदयहरू ढुङ्गाजस्तो बरु त्यो भन्दा पनि कठोर भइहाले किन भने केही ढुङ्गा त यस्ता हुन्छन् कि फुटेर तिनबाट नहरहरू बग्न थाल्छन् । र केही यस्ता हुन्छन् कि फुटी हाल्छन् र तिनबाट पानी निस्कन्छ । र कुनै यस्ता हुन्छन् कि अल्लाहको भयले खसिहाल्छन् । र अल्लाह तिम्रा क्रियाकलापबाट अनभिज्ञ छैन ।
७५) (मुस्लिमहरू हो !) के तिमी आशा गर्दछौ कि यिनीहरू तिमीहरूप्रति आस्थावान बनुन् ? हुन त तिमीध्ये केहीले अल्लाहका कुरा सुनेर, जानीबुझी पनि त्यसलाई परिवर्तन गर्ने गर्दछन् ।
७६) जब यिनीहरू मोमिनहरूसंग भेट्दछन्ः त आफू आस्थावान भएको कुरा गर्दछन् । र जुनबेला आपसमा एक अर्कालाई भेट्दछन्, त्यतिखेर भन्दछन् कि जुन कुरा अल्लाहले तिमीलाई प्रकट गरेको छ, त्यो तिमीले तिनीहरूलाई (मुस्लिमहरूलाई) किन भनिहाल्छौ ? कि (अन्तिम दिन) त्यसैको सन्दर्भले तिम्रो पालनहारको अगाडि तिमीलाई दोषी ठहराइनेछ के तिमी बुझ्दैनौ ?
७९) उनीहरूलाई अनिष्ट छ, जो आफ्नो हातले किताब लेख्दछन् अनि भन्दछन् कि यो अल्लाहको तर्फबाट हो ताकि त्यसद्वारा तुच्छ साँसारिक लाभ प्राप्त गर्नसकुन् । तिनीहरूलाई आफ्नो हातबाट लेख्नुको कारण अनिष्ट छ र तिनीहरूलाई तिनको अनैतिक कमाइको कारण अनिष्ट छ ।
८०) र यिनी भन्दछन् कि हामी त केही दिन मात्र नर्कमा बस्ने छौं । तिनीहरूसित भनः के तिमीहरूले अल्लाहसँग कुनै वचन लिएका छौ ? यदि छ भने निःसन्देह अल्लाह आफ्नो वचनको उल्लंघन कहिल्यै गर्दैन, बरु तिमीले त अल्लाहको बारेमा यस्ता कुरा भन्दछौ जसको सम्बन्धमा तिमीलाई केही ज्ञान छैन ।
८३) र जब हामीले बनी इस्राईलसित वाचा गरायौं कि अल्लाह बाहेक अरु कसैको पूजा नगर्नु, र आमा–बाबुसित राम्रो व्यवहार गर्नु यस्तै नातेदार, अनाथ र गरिबहरूसंग पनि, र मानिसहरूसंग राम्रा कुरा गर्नु, र नमाज पढ्दै गर्नु, र जकात (दान) दिंदै गर्नु । तर केही व्यक्तिहरू बाहेक तिमी (सबै) यस वचनबाट पछि फर्कयौ र मुख फेर्यौ ।
८५) फेरि पनि तिमीले आफन्तहरूको हत्या गर्यौ र आफूमध्येकै एक समूहमाथि अत्याचार गरी तिनलाई घरबाट निकाला गर्यौ, र दुराचार र पापमा उनीहरूका विरुद्ध अत्याचारीहरूको मद्दत गर्यौ । तथा तिनीहरू तिमीकहाँ यदि बन्दी भएर आउँदा बदलामा धन तिरेर छुटाउछौ अतः तिनलाई घर–निकाला गरेको कुरा तिमीहरूको लागी वर्जित थियो । के तिमी कुनै आदेशमाथि आस्था राखदछौ र केहीलाई नकारदछौ ? तिमीहरूमध्ये जसले यस्तो काम गर्दछन् उनको लागि यस संसारमा अपमान र कयामतको दिन कठोर सजायको भोगाई बहेक अरु के हुन सक्छ । र तिम्रो आचरणसंग अल्लाह बेखबर छैन ।
८७) हामीले मूसालाई ग्रन्थ प्रदान गर्यौं र उनको पछाडि अन्य रसूल पठाउँदै गर्यौं, र ईसा बिन मरियमलाई स्पष्ट तर्कहरू प्रदान गर्यौं र रूहुलकुदस (जिब्राइल) द्वारा उनको पुष्टि गर्यौं । तर जब कुनै अल्लाहको दूत तिमीहरूतिर यस्ता कुराहरू लिएर आए जुन कि तिमीहरूलाई रुच्दैनथ्यो तब तिमीहरू अहंकारी हुन पुग्थ्याै र केहीलाई झूठा भने र केहीको हत्या पनि गरे ।
८८) तिनीहरू भन्दछन्ः हाम्रो हृदय पर्दामा छन् । होइन, बरु अल्लाहले तिनको नास्तिकताको कारणले तिनीलाई अभिशप्त गरेको छ, तसर्थ तिनीहरूमा आस्थावान अत्यन्त थोरै छन् ।
८९) र, जब तिनीतिर अल्लाहको तर्फबाट एउटा किताब (कुरआन) जो उनको किताबलाई सत्य बताउने आयो, जबकि पहिला यिनी स्वयम् त्यसको माध्यमबाट अनास्थावानहरूमाथि विजय हासिल गर्न चाहन्थे, तर जब त्यो आयो त त्यसलाई चिन्हिसकेपछि त्यसलाई फेरि इन्कार गर्न थाले अतः अल्लाहको अभिशाप हुनेछ अनास्थावानहरूमाथि ।
९०) त्यो चीज साह्रै नराम्रो छ, जसको सट्टा तिनीहरूले आफूलाई बेचिहाले, त्यो तिनीहरूको अनास्था हो, अल्लाहको तर्फबाट आएको चीजसंग मात्र यस डाहको कारण कि अल्लाहले आफ्ना भक्तहरूमध्ये जसमाथि चाह्यो आफ्नो कृपा गर्यो, यसकारण तिनीहरू एक क्रोध पछि अर्को क्रोधको पात्र भए । र अनास्थावानहरूको लागि अपमानजनक सजाय छ ।
९१) र, जब तिनीहरूसित भनिन्छ कि अल्लाहले प्रदान गरेको किताबमाथि आस्था राख, त भन्दछन् कि जुन ग्रन्थ हामीमाथि उतारिसकिएको छ, त्यसमाथि हाम्रो आस्था छ । जबकि त्यसभन्दा पछिल्लो (किताब) जुन कि सत्य हो र तिनको (किताब तौरातको) पुष्टि गर्दछ, त्योसंग अनास्था राख्दछन् । तिनीहरूसित यो सोध कि यदि तिमी अघिल्ला किताबहरूमाथि आस्था राख्दछौ त फेरि तिमीले अल्लाहका दूतहरूलाई किन मारिदिन्थ्यौ ?
९३) जब हामीले तिमीबाट वाचा लियौं र तूर पर्वतलाई तिमीमाथि उभ्यायौं । (र आदेश दियौं) कि जुन (किताब) हामीले तिमीलाई दिएका छौं त्यसलाई बेस्सरी समात र (आदेशलाई) सुन, त तिनीहरूले भने कि हामीले सुन्यौं तर मान्दैनौं, र तिनको नास्तिकताको कारणले तिनको हृदयमा बाछोको माया पलाइहाल्यो । (हे मुहम्मद) तिनीहरूलाई भनिदिनु कि तिम्रो ईमानले तिमीलाई नराम्रो आदेश गरिरहेको छ यदि तिमी आस्थावान हौ ।
९६) बरु हे नबी ! तिनीहरू सबभन्दा बढी जीवनप्रति मोह राख्नेहरू हुन् । र यो मोह तिनीहरूमा अल्लाहसँग अरुको साझेदारी ठहराउनेहरूभन्दा पनि बढी हुन्छ । तिनीहरूमध्ये हरेकले एक–एक हजार वर्षसम्म बाँच्ने इच्छा राख्दछ । तर यो लामो उमेरले पनि तिनलाई सजायबाट मुक्त गराउन सक्दैन, र जुन काम यिनीहरू गर्दछन् त्यसलाई अल्लाहले राम्रोसित देखिरहेको छ ।
९७) (हे मुहम्मद ) भनिदिनुः कि जो जिब्राइलको शत्रु हो, जसले अल्लाहको सन्देशलाई उसको आदेशानुसार तपाईको हृदयमा उतारेको हो, जुन सन्देशले उनीहरूको (अघिका) ग्रन्थहरूलाई प्रमाणित गर्दछ र आस्थावानहरूको निम्ति मार्गदर्शक र शुभसन्देश हो । (त अल्लाह पनि तिनीहरूको शत्रु हो)
१००) तिनीहरूले जब–जब कुनै वाचा गर्दछन् तब–तब तिनीहरूमध्ये एक वा अर्को समूहले त्यसलाई भङ्ग गरिदिन्छ । वास्तविकता यो हो कि तिनीहरूमध्ये धेरैजसो आस्था नभएका हुन् ।
१०१) तिनीहरूतिर जहिलेसुकै अल्लाहबाट कुनै पैगम्बर (सन्देशवाहक) तिनीहरूको ग्रन्थको पुष्टि गर्नेगरी आयो, त ग्रन्थ मान्नेहरूको एउटा समूहले अल्लाहको किताबतिर यसरी पिठ्यँ पछाडि फर्कायो, कि मानौ तिनीहरूलाई केही थाहा नै थिएन ।
१०२) र त्यस चीजको पछि लागे जसलाई सुलैमानको राज्यकालमा शैतानहरूले पढ्ने गर्दथे । तर सुलैमानले बिल्कुलै कुफ्र गरेनन् बरु शैतानहरूले नै कुफ्र गर्दथे, तिनीहरूले मानिसहरूलाई जादू सिकाउँदथे जुन ‘‘बाबुल’’ शहरमा दुईजना फरिश्ता (अर्थात) हारुत र मारुतमाथि उतरेको थियो । ती दुवैले पनि कसैलाई तबसम्म केही सिकाउन्नथे जबसम्म यो भन्दैन्थे कि हामी त एउटा परीक्षणमा छौं, तिमी कुफ्रमा नलाग । फेरि पनि मानिसहले तिनीहरूसित यस्तो (जादू) सिक्दथे जसबाट पति–पत्नीबीच सम्बन्ध–बिच्छेद भइहालोस् र वास्तवमा अल्लाहको इच्छा नभई, तिनीहरूले त्यसबाट कसैको केही बिगार्न सक्दैनन् । र यिनीहरूले यस्ता (मन्त्र) सिक्दथे जसले तिनलाई हानि पुर्याओस् र लाभ पुर्याउन नसकोस् । र तिनीहरू विश्वासका साथ जान्दछन् कि यस्ता कुराहरू लिनेहरूको परलोकमा केही अंश हुँदैन र त्यो निकृष्ट चीज हो जसको बदलामा तिनीहरूले आफ्ना ज्यान बेचिहाले । कति राम्रो हुन्थ्यो, यदि तिनीहरू यो कुरो जानेको भए ।
१०४) हे आस्थावानहरू ! तिमीहरू अल्लाहको पैगम्बरको (लागि) ‘‘राएना’’ नभन बरु ‘‘उन्जुर्ना’’ भन अर्थात हाम्रोतर्फ हेर्दै र सुन्दै गर्नु र काफिरहरूको लागि कष्टदायक सजाय छ ।
१०५) न त अहले किताबका काफिरहरू र न त ‘‘मुश्रिक’’हरू चाहन्छन् कि तिमीमाथि पालनकर्ताबाट कुनै राम्रो कुरा उत्रोस्, तर अल्लाहले जसलाई रुचाउँछ, आफ्नो विशेष दयाको पात्र बनाउँछ र अल्लाह ठूलो कृपाको स्वामी छ ।
१०६) हामी जुन आयतलाई (श्लोक) रद्द गरिदिन्छौं वा त्यसलाई बिर्सिदिन्छौं । त्योभन्दा राम्रो वा त्यस्तै अन्य आयतहरू ल्याउँछौं । के तिमीलाई थाहा छैन कि अल्लाह प्रत्येक कुरामाथि सर्वशक्तिमान छ ?
१०८) के तिमी आफ्नो रसुलबाट त्यही सोध्न चाहन्छौ । जुन यसभन्दा पहिला मूसासंग सोधिएको थियो ? र जुन व्यक्तिले ईमानको सट्टा कुफ्र ग्रहण गर्यो त्यो सोझो बाटोबाट विचलित भइहाल्यो ।
१०९) धेरै जसो अहले किताबहरू (यहुदी ईसाईले) सत्य प्रकट भइसकेपछि पनि आफ्ना हृदयमा ईष्र्या भएको कारण तिमीलाई पनि ईमानबाट विचलित गराउन चाहन्छन् । तिमी पनि क्षमा गर र बेवास्ता गरिदेऊ, यहाँसम्म कि अल्लाहले आफ्नो (अर्को) आदेश पठाओस्, निःसन्देह अल्लाह हरेक कुरामाथि सामर्थवान छ ।
११०) नमाज पढ्दै गर र जकात दिंदै गर र जुन सत्यकर्म आफ्नो लागि अगाडि पठाउनेछौ, ती सबै अल्लाहकहाँ पाउने छौ, कुनै सन्देह छैन कि अल्लाह तिम्रा क्रियाकलापहरूलाई हेरिराखेको छ ।
१११) यिनीहरू भन्दछन् कि यहूदी र ईसाईहरू बाहेक अरु कोही स्वर्गमा जाने छैन । यी यिनीहरूका कल्पना मात्र हुन् । (हे पैगम्बर !) यिनीहरूलाई भनिदिनु कि यदि (तिमी) सत्य छौ भने कुनै प्रमाण त पेश गर ।
११२) सुन ! जो पनि अल्लाहको अगाडि असल नीयतले आफ्नो टाउको निहुराउँनेछ त निःसन्देह उसलाई त्यसको पुरस्कार उसको पालनकर्ताले दिनेछ । उसको लागि न कुनै प्रकारको भय रहनेछ, न दुःख र उदासी ।
११३) यहूदीहरू भन्दछन् कि ईसाईहरू सत्य बाटोमा छैनन् र ईसाईहरू भन्दछन् कि यहूदीहरू सत्य मार्गमा छैनन्, जबकि यिनीहरू तौरेत पढ्छन् । यसरी नै ठीक यस्तै कुरा अज्ञानीहरूले पनि गर्दछन् । अल्लाहले कियामतको दिन तिनीहरूको यस विवादको फैसला तिनीहरूबीच गर्नेछ ।
११४) त्यसभन्दा ठूलो अन्यायी को हुनसक्छ जसले अल्लाहका मस्जिदहरूमा अल्लाहकै नामको चर्चा गर्न मनाही गर्दछ र तिनलाई बरबाद बनाउने प्रयास गर्दछ ? त्यस्ता मानिसले डर मान्दै त्यसमा लाग्नु पर्छ । तिनीहरूका लागि संसारमा अपमान र आखिरतमा ठूलो सजाय छ ।
११६) यिनीहरू भन्दछन् कि अल्लाहका सन्तान छन् । (होइन) बरु अल्लाह पवित्र छ, आकाश र जमिनका सबै सृजनाहरू उसैका सम्पत्ति हुन् र प्रत्येक उसैको आज्ञाकारी छन् ।
११८) यस्तै नबुझ्ने मानिसहरू भन्दछन् कि अल्लाह हामीसँग वार्तालाप किन गर्दैन, अथवा हाम्रो लागि कुनै चिनो किन आउँदैन ? यस्तै यस प्रकारको कुरा उनीभन्दा अघिकाले पनि गरेका थिए । उनीहरूका र यिनीहरूका हृदयहरू एक जस्ता भइसके र हामीले त आस्थावानहरूका लागि चिनोको वर्णन गरिसकेका छौं ।
११९) (हे मुहम्मद !) हामीले तपाईलाई सत्यको साथमा शुभसन्देश सुनाउने र डर देखाउनेवाला बनाएर पठाएका छौं र नर्कमा जानेहरूको सम्बन्धमा तपाईसँग केही जवाफदेही हुने छैन ।
१२०) तपाईसँग यहूदी र ईसाई कहिले पनि सहमत हुने छैनन्, जबसम्म तपाई तिनीहरूको धर्मको अनुयायी बन्नुहुन्न । (हे पैगम्बर !) भनिदिनु कि अल्लाहको मार्गदर्शन नै मार्गदर्शन हो र तपाईसंग ज्ञान आइसके पछि पनि यदि तपाईले उनीहरूको इच्छाको वकालत गर्नुभयो भने अल्लाहसंग तिम्रो न कुनै पक्षधर हुनेछ नकोही सहायता गर्नेवाला ।
१२१) जसलाई हामीले किताब प्रदान गरेका छौं र उनीहरूले त्यसलाई निष्ठाका साथ पढ्छन् भने उनीहरू यस किताबमाथि पनि आस्था राख्दछन् र जो यसको अवज्ञा गर्दछ ऊ नोक्सान उठाउनेछ ।
१२३) त्यस दिनसित भयभीत होऊ जुन दिन कुनै प्राणी अर्को प्राणीलाई कुनै फाइदा पुर्याउन सक्ने छैन, न कसैबाट कुनै बदला स्वीकार्ने छ, र उसको सम्बन्धमा कुनै सिफारिश पनि स्वीकार्ने छैन र कुनै मद्दत प्राप्त हुनेछैन ।
१२४) जब पालनहारले अनेक कुराहरूबाट इब्राहीमको परीक्षा लियो र उनी ती सबैमा उत्तीर्ण भए । त अल्लाहले भन्यो कि म तिमीलाई संसारभरिका मानिसहरूको पथप्रदर्शक बनाउनेछु । उनले भने कि (पालनकर्ता) मेरो सन्ततिलाई पनि, अल्लाहले भन्नु भयो, हाम्रो वाचा अन्यायीहरूको लागि हुनेछैन ।
१२५) र हामीले खान–ए–कअ्बा–लाई मानिसहरूको पुण्य र शान्तिको ठाउँ बनायौं, तपाईले इब्राहीम उभेको स्थानलाई नमाज पढ्ने ठाउँ बनाउनु । र हामीले इब्राहीम तथा इस्माईलबाट वाचा लियौं कि तिमीहरू मेरो घर (कअ्बा) लाई परिक्रमा गर्ने, र रुकअ् र सजदा (ढोग) गर्नेहरूको निम्ति सफा र पवित्र राख्ने गर ।
१२६) र जब इब्राहीमले प्रार्थना गरे कि हे पालनहार ! यस ठाउँलाई शान्तिको नगर बनाइदेऊ र यसका वासिन्दाहरू जो अल्लाहमाथि र आखिरतको दिनमाथि आस्था राख्ने छन्, तिनीहरूलाई खानको निम्ति फलफूलको आहार प्रदान गर, तब अल्लाहले भन्यो कि मैले अनास्थावानहरूलाई पनि केही लाभ प्रदान गर्नेछु, फेरि तिनलाई आगोको सजाय भोग्नको लागि विवश गरिदिन्छु, जानुपर्ने यो अत्यन्त नराम्रो ठाउँ हो ।
१२७) इब्राहीम र इस्माईल कअ्बाको जग र पर्खाल उठाउँदै जानुहुन्थ्यो र प्रार्थना गर्दै जानुहुन्थ्यो कि हे पालनहार ! हामीबाट यो सेवा स्वीकार गर । निःसन्देह तिमी नै सबै सुन्ने र जान्नेवाला हौ ।
१२८) हे हाम्रो पालनहार ! हामीलाई आफ्नो आज्ञापालक बनाइराख र हाम्रा सन्ततिमध्येबाट एउटा समूहलाई पनि आफ्नो ताबेअ्दार बनाइराख र हामीलाई आफ्नो पूजा गर्ने तरिका सिकाउ र हाम्रो तौबा स्वीकार गर । निःसन्देह तिमी क्षमा दिने दयावान र कृपालु हौ ।
१२९) हे हाम्रो पालनहार ! यिनीहरूको निम्ति यिनैमध्येबाट पैगम्बर पठाउनु जसले उनीहरूलाई तिम्रा आयतहरू पढेर सुनाओस्, र यिनलाई किताब र कौशल सिकाउँदै गरोस् र यिनीहरूका (हृदयलाई) पवित्र गर्दैगरोस् । निःसन्देह तिमी अपार शक्तिशाली र अति तत्वदर्शी हौ ।
१३२) इब्राहीमले र यअ्कूबले आफ्नो सन्ततिहरूलाई यस्तै उपदेश दिए, कि हाम्रा सन्ततिहरू हो ! अल्लाहले तिम्रो निम्ति यही धर्म रोजेको हो । तसर्थ मर्नु त मुसलमान भएर नै मर्नु ।
१३३) के यअ्कूब परलोक हुने बेला तिमी त्यहाँ उपस्थित थियौ ? जब उनले आफ्ना सन्तानहरूसित सोधे कि मपछि तिमीहरू कसको भक्ति गर्नेछौं, तब तिनीहरूले भने कि तपाईको पालनहार, र तपार्ईको पुर्खा, इब्राहीम र इस्माईल र इस्हाकको पलनहारको भक्ति गर्नेछौं, जो एउटै छ र हामी उसैको आज्ञाकारी रहने छौं ।
१३५) यिनीहरू (यहूदी र ईसाईहरू) भन्दछन् कि यहूदी अथवा ईसाई भइहाल, अनि सहीमार्ग पाउने छौ । (हे पैगम्बर !) भनिदिनु, बरु इब्राहीमको धर्म मान्नेहरू सही मार्गमा छन् र इब्राहीम अल्लाहका सच्चा अनुयायी थिए र मुश्रिकहरूमध्येका थिएनन् ।
१३६) हे मुस्लिमहरू ! तिमीहरू सबैले भनिदेऊ कि हामी अल्लाहमाथि, र जुन किताब हामीतिर उतारियो, र जुन (ग्रन्थहरू) इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र उनका सन्ततिहरूलाई प्रदान गरियो, तिनीमाथि र जुन मूसा र ईसालाई प्रदान गरियो र जुन अन्य पैगम्बरहरूलाई तिनको पालनकर्ताबाट प्रदान गरिए, तिनीमाथि सम्पूर्ण आस्था राख्दछौं । हामीले ती पैगम्बरहरूमा कुनै भेदभाव गर्दैनौं र हामी उही एक अल्लाहको आदेश पालन गर्नेहरू हौं ।
१३७) यदि तिनीहरू पनि तिमी जस्तै आस्था राखे भने सही मार्ग पाउनेछन् । र यदि विमुख हुन्छन् भने तिनी (तिम्रा) विरोधीहरू हुन् र तिनको दाँजोमा तिमीलाई अल्लाह नै पर्याप्त छ र ऊ सबै सुन्ने जान्नेवाला हो ।
१३९) तपाईले भनिदिनुस्, के तिमी अल्लाहको सम्बन्धमा हामीसँग झगडा गर्दछौं, जो हाम्रो र तिम्रो पालनकर्ता हो । हामीलाई हाम्रो कर्मको र तिमीलाई तिम्रो कर्मको फल प्राप्त हुनेछ, र हामी त उसैको उपासक हौं ।
१४०) (हे यहूदी र ईसाई !) के तिमी यो भन्दछौ कि इब्राहीम, इस्माईल, इस्हाक, यअ्कूब र तिनका सन्तति यहूदी वा ईसाई थिए ? (हे मुहम्मद ! तिनीहरूसित) भनिदिनुस्, के तिमीहरू धेरै ज्ञानी छौं, कि अल्लाह ? अल्लाहको नजिक प्रमाण लुकाउनेभन्दा बढी अन्यायी को हुन सक्दछ ? र तिमीहरू जे गरिराखेका छौ, त्यससित अल्लाह असावधान छैन ।
१४१) यो उम्मत (पिढी) बितिसकेको छ, तिनीहरूले जे गरे तिनीहरूको लागि छ र जे तिमीहरूले गरेका छौ तिम्रो निम्ति छ, तिनीहरूको कामको सम्बन्धमा तिमीसित सोधपूछ हुनेछैन ।
१४२) चाँडै मूर्खहरूले भन्नेछन् कि (मुसलमान) जुन किब्लासंग आबद्ध थिए, (अहिले) त्यसबाट उनीहरूलाई कुन कुराले विमुख गराएको छ ? तपाई भनिदिनुस् कि, पूर्व र पश्चिम सबैको स्वामी अल्लाह हो । उसले जसलाई चाहन्छ, सही बाटोमा हिंड्ने मार्गदर्शन दिन्छ ।
१४३) हामीले यस्तै तिमीलाई मध्यमार्गी समुदाय बनाएका हौं जसबाट अरु मानिसहरूको साक्षी बन र (मुहम्मद सल्लल्लाहो अलैहे वसल्लम) पैगम्बर तिम्रो लागि साक्षी बनुन् र जुन किब्लामा तिमी पहिलादेखि लागेका थियौ, त्यसलाई हामीले यस कारण निर्धारित गरेका थियौं ताकि थाहा होस् कि, को (हाम्रो) पैगम्बरको सच्चा अनुयायी हो र को हो जो विचलित हुन्छ ? यो काम गाह्रो छ, तर जसलाई अल्लाहले मार्गदर्शित गरेको छ । (तिनीहरूलाई गाह्रो छैन) । र अल्लाहले तिम्रो आस्थालाई निरर्थक तुल्याउने छैन । अल्लाह त मानिसहरूसंग अत्यन्त कृपा र दयाको व्यवहार गर्नेवाला छ ।
१४४) (हे मुहम्मद) मैले तपाईको मुख पटक–पटक आकाशतिर उठ्दै गरेको देख्दैछु । अब हामीले तपाईलाई यस किब्लातिर, ध्यानाकर्षण गराउँदैछौ जसबाट तपाई खुशी हुनु हुनेछ । तपाईले आफ्नो मुख मस्जिदे हराम (अर्थात् खानए–कअ्बा) तिर फर्काउनुस् र तपाई जहाँ भए पनि (नमाज पढ्ने बेलामा) त्यही मस्जिदतर्फ आफ्नो अनुहार फर्काउने गर्नुस् । किताब मान्नेहरूलाई यो कुरा राम्ररी थाहा छ कि अल्लाह तर्फबाट यो नै सत्य हो । र जुन काम यिनीहरू गर्दछन्, त्यसबाट अल्लाह अनभिज्ञ छैन ।
१४५) र यदि तपाईले ग्रन्थ प्रदान भएकाहरु सामु जति तर्कहरूराखे पनि तिनीहरूले (यहुदी र ईसाई) तपाईको किब्लालाई स्वीकार्ने छैनन् र नत तपाईले उनीहरूको किब्लालाई स्वीकार्ने हो र नत उनीहरू परस्परमा एक अर्काको किब्लालाई मान्ने छन् । र यदि तिमी आफ्नो छेउ ज्ञान आइसके पछि तिनीहरूको इच्छा अनुसार हिंड्छौ भने तिमी पनि अन्यायीहरूमध्येका हुनेछौ ।
१४६) जसलाई हामीले ग्रन्थ प्रदान गरेका छौं, तिनीहरू त्यसलाई यसरी चिन्दछन्, जस्तो कि आफ्ना सन्तानहरूलाई चिन्ने गर्दछन्, (तर) यिनीमध्ये एउटा समूहले जानी–जानी सत्य कुरालाई लुकाइराख्दछन् ।
१४८) हरेक व्यक्ति कुनै न कुनैतर्फ लागि रहेको छ, तर तिमी सत्य कर्मतर्फ अघि बढ्ने गर । तिमीहरू जहाँ भए तापनि अल्लाहले तिमीलाई ल्याउने छ । (निःसन्देह) अल्लाह हरेक कुराको लागि सर्वशक्तिमान छ ।
१४९) तिमी जहाँबाट निस्कदा (नमाजमा) आफ्नो अनुहार मस्जिदे हराम तिर फर्काइहाल । निःसन्देह त्यो तिम्रो पालनहारबाट सत्य हो । र, तिमीहरू जेजति गर्दछौ, अल्लाह त्यसबाट अनभिज्ञ छैन ।
१५०) र, तिमीहरू जहाँबाट निस्कदा मस्जिदे हरामतिर अनुहार फर्काइहाल र (मुसलमानहरू) तिमी जुनसुकै ठाउँमा भएपनि त्यही मस्जिदतर्फ आफनो अनुहार फर्काउने गर । यस कारणले कि मानिसहरूले तिमीलाई कुनै किसिमबाट दोषारोपण गर्न नपाउन, तर उनीहरू मात्र जो अत्याचारी छन्, दोष लगाउन सक्छन् । तिमीले तिनीहरूसित नडराउनु मसित मात्र डराउनु अनि यो पनि अभिप्राय छ कि मैले तिमीलाई आफ्नो सम्पूर्ण उपकारहरू प्रदान गरुँ र यस कारण पनि कि तिमी सही बाटोमा हिँड ।
१५१) जसरी हामीले तिमीहरूमध्येबाट तिमीहरूबीच एउटा रसूल पठाएका छौं, जसले तिम्रो सामु हाम्रा आयतहरू पढेर सुनाउँदछ, र तिमीलाई पवित्र बनाइराख्दछ र किताब (कुरआन) र कौशल सिकाइराखेको छ र यस्ता कुरा पनि जुन कि तिमी जान्दैनथ्यौ ।
१५८) (निःसन्देह) सफा र मर्वा (पर्वत) अल्लाहका निशानीमध्येका हुन् । यसर्थ जुन मानिसले खानए–कअ्बाको हज अथवा उमरः गर्दछ उसले दुवैको परिक्रमा गर्नुमा कुनै पाप हुँदैन । र आफ्नो स्वेच्छाले जो भलो गर्दछ, त अल्लाह कदर गर्नेवाला र राम्ररी जान्नेवाला छ ।
१५९) जसले हामीबाट उतारेको आदेश र निर्देशनलाई लुकाउँछन्, यसको बावजूद कि हामीले तिनीहरूलाई आफ्नो किताबमा स्पष्टरूपमा वर्णन गरेका छौ, त्यसता मानिसहरूलाई अल्लाहले र समस्त धिक्कार गर्नेहरूले धिक्कार्ने गर्दछन् ।
१६०) तर ती मानिसहरू जसले पश्चाताप गर्दछन् र आफ्नो सुधार गरिहाल्छन् र (आदेशलाई) बयान गर्दछन्, त्यस्ताको क्षमायाचना मैले स्वीकार गरिदिन्छु, म अत्यन्त क्षमादाता र दयावान् छु ।
१६४) आकाशहरू र पृथ्वीको सृष्टिमा र रातदिनको प्रक्रियामा डुङ्गा जुन कि, मानिसहरूलाई फाइदा पुग्ने सरसामान बोकी समुद्रमा बगिरहेछन् र वर्षा जुन कि अल्लाहले आकाशबाट वृष्टि गर्छ र जसबाट पृथ्वीको मृत भू–भाग जीवित हुन्छ पृथ्वीमा प्रत्येक किसिमका जनावरहरू फैलाउनु, हावाको दिशा परिवर्तन गर्नु र बादलहरूमा, जुन कि आकाश र धर्तीको बीचमा घुम्छन्, समझदारको लागि यी सबै अल्लाहको कुदरत (शक्ति)का निशानीहरू हुन् ।
१६५) केही मानिसहरू यस्ता पनि छन्, जसले अल्लाहको शक्तिमा अरुलाई साझेदार बनाएर तिनलाई अल्लाह जस्तै मायाँ गर्दछन्, र आस्थावानहरू अल्लाहसंगको प्रेममा अत्यन्त कठोर हुन्छन् । कति राम्रो हुन्थ्यो यदि अन्यायीहरूले अल्लाहबाट हुने सजाय देखेर यो जानेको भए कि सबै प्रकारको शक्ति अल्लाहमा नै नीहित छ र यो पनि कि अल्लाह कठोर सजाय दिनेवाला छ (त कदापि कसैलाई साझेदार बनाउने थिएनन्)
१६६) जुन दिन (नास्तिका) नाइकेहरू आफ्ना अनुयायीहरूसित विमुख हुनेछन् र (दुवैले) सजाय आफ्ना आँखाले देख्नेछन् त तिनीहरूसंगको सबै नाता, सम्बन्धहरू समाप्त हुनेछन् ।
१६७) र (यो देखेर) अनुयायीहरूले भन्नेछन् कि धेरै राम्रो हुने थियो, यदि हामी संसारमा पुनः जाने सौभाग्य पाउने भए । जसरी हामीसित यिनी विमुख भइराखेका छन् त्यस्तै हामी पनि यिनीहरूसित विमुख हुनसक्ने थियौं । यसप्रकार अल्लाहले तिनको कर्म तिनीहरूलाई उनको आकांक्षाको रूपमा देखाउने छ र तिनीहरू नर्कबाट निस्कन सक्ने छैनन् ।
१७०) र जब तिनीहरूलाई भनिन्छ कि अल्लाहले उतारेको किताबको अनुशरण गर, त उत्तर दिन्छन् कि (होइन), बरु हामीले त्यसको अनुशरण गर्छौ, जसको हाम्रा पूर्वजहरूले अनुशरण गरेका थिए, यद्यपि तिनका पूर्वजहरू महाअज्ञानी र सही बाटोमा नहिंड्ने भएतापनि तिनीहरू उनीहरूकै अनुशरण गर्नेछन् ?
१७१) अनास्थावानहरूको तुलना ती जनावरहरूसंग गर्न सकिन्छ जसले आफ्नो गोठालोको आवाज र पुकार मात्र सुन्छन् र केही पनि बुझ्दैनन् । (यिनीहरू) बहिरा, लाटा र अन्धा छन्, यिनको बुद्धि छैन ।
१७२) हे आस्थावानहरू ! जुन पवित्र कुराहरू हामीले तिमीलाई प्रदान गरेका छाैं, तिनको उपभोग गर, अल्लाहले प्रदान गरेका उपहारहरूको लागि आभार पनि प्रकट गर, यदि तिमी उसैको उपासना गर्दछौं ।
१७३) तिम्रो लागि मृतक जनावर, रगत, सुँगुरको मासु र जुन कुरामा अल्लाह बाहेक अरु कसैको नाम पुकारिन्छ, हराम (वर्जित) बनाइएको छ, तर जो मजबूर छ र अल्लाहको आदेशको सीमा उल्लंघन र आवश्यक्ता (प्राण बचाउन) को सीमा नाघ्दैन, त्यस निरुपाय व्यक्तिको लागि कुनै पाप हुँदैन । (निःसन्देह) अल्लाह क्षमा प्रदान गर्नेवाला, दयावान छ ।
१७४) निःसन्देह जुन मानिसहरू अल्लाहबाट उतारिएको किताबको आदेशलाई लुकाएर थोरै मूल्यमा बेच्दछन् निःसन्देह तिनले आफ्नो पेटमा आगो भरिराखेका छन् । यस्ता मानिसहरूसित अल्लाहले कियामतको दिन कुरा पनि गर्ने छैन नत उनीहरूलाई पापबाट मुक्त गर्नेछ । अपितु तिनीहरूका लागि कष्टदायक सजाय हुनेछ ।
१७७) तिमीहरू अफनो मुहार पूर्व र पश्चिमतर्फ गर्दैमा कुनै पुण्यकार्य छैन, अपितु असल धर्मी त्यो हो जसले अल्लाह, कयामत, फरिश्ताहरू, अल्लाहको किताब र पैगम्बरहरूमाथि आस्था राख्दछ, र जसले सम्पति प्रतिको मायाको बावजूद (त्यसबाट) नातेदार, अनाथ, निःसहाय, यात्रु र भिखारीहरूलाई प्रदान गर्दछ र दासहरूलाई मुक्त गराउनमा खर्च गर्दछ, र नियमित नमाज पढद्छ र जकात दिन्छ, र दिएको वचन पुरा गर्दछ । गरीबी दुःख र युद्धको बेला धैर्य राख्दछ । यिनै सच्चा र असल मानिसहरू हुन् ।
१७८) हे मोमिनहरू ! तिमीलाई हत्या गरिएको मानिसको सम्बन्धमा किसास (समानताको कानून) को आदेश दिइएको छ स्वतन्त्र मानिसको बदलामा स्वतन्त्र मानिस र दासको सट्टा दास र स्त्रीको बदला स्त्री हो, यदि हत्यारालाई हत्या गरिएको व्यक्तिको दाजु भाइको तर्फबाट क्षमादान गरिन्छ भने त्यस उपकारलाई स्वीकार गर्नुपर्छ । हत्या गरिएको वारिसलाई चित्त बुझ्दो तरिकाले माँग गरेमा उचित रूपमा क्षतिपूर्ति गर्नुपर्दछ । यो प्रतिपालकको तर्फबाट तिमीलाई सुविधा र कृपा हो । जसले यसपछि पनि सीमाको उल्लंघन गर्दछ, त्यसलाई कष्टदायक सजाय हुनेछ ।
१८०) तिम्रो लागि यो अनिवार्य गरिएको छ कि जब तिमीहरूमध्ये कसैको मृत्युको समय नजिक होस्, र यदि उसले आफ्नो सम्पत्ति छाड्नेवाला छ भने आफ्नो आमा–बाबु र नातेदारहरूको लागि राम्रो हुने किसिमको इच्छापत्र गरेर जाओस् । उपासकहरूको लागि यो वास्तविकता प्रमाणित छ ।
१८१) अब यो सुने पछि कुनै व्यक्तिले यसलाई (इच्छा पत्रलाई) बदल्छ भने त्यसको पाप त्यो बदल्ने मानिसमाथि हुन्छ । निःसन्देह अल्लाह सुन्नेवाला (र) जान्नेवाला छ ।
१८२) परन्तु जसले वसीयत गर्ने मानिसको पक्षपात गर्न अथवा अनुचित वसीयत (इच्छा पत्र) बाट डर आशंका गर्छ । परस्पर (हकदारहरूबीच) समझदारी गराइदिएमा उसलाई कुनै पाप लाग्दैन । अल्लाह क्षमा प्रदान गर्नेवाला दयालु छ ।
१८३) आस्थावानहरू हो ! (मोमिनहरू) तिमीमाथि व्रत राख्नु अनिवार्य गरिएको छ जसरी तिमीभन्दा पहिलेका मानिसहरूमाथि अनिवार्य गरिएको थियो । जसबाट कि तिमी संयमी बन्न सक ।
१८४) (व्रतको समय) गणनाका केही दिनहरू हुन्, तर तिमीहरूमध्ये जुन मानिस विरामी छ अथवा यात्रामा छ, तब उसले अन्य दिनहरूमा व्रतको दिनको संख्या पूरा गरोस्, र सामर्थवानले (अति वृद्ध वा निको नहुने रोगको कारण ब्रत बस्ने क्षमता राख्दैन भने) तिनीहरूले व्रतको सट्टा एउटा गरिबलाई खाना खुवाउन । यदि कुनै मानिस आफ्नो इच्छा अनुसार अझ बढी गर्दछ त त्यसको निम्ति झन् राम्रो हुनेछ । तर तिम्रो लागि व्रत बस्नु नै उत्तम काम हो यदि तिमी ज्ञानी छौ ।
१८५) रमाजानको महिना त्यो हो जुन महिनामा कुरआन उतारियो, जो मानिसहरूको लागि पथप्रदर्शक हो र जसमा मार्गदर्शन र सत्य र असत्यलाई छुट्टयाउने निशानीहरू छन् । तिमीहरूमध्ये जसले पनि यो महिना पाओस् त्यसले पूरा महिनाको व्रत बसोस् हो, जो बिरामी छ अथवा यात्रामा छ ऊ अन्य दिनहरूमा (व्रत बसी) त्यसको गणना पूरा गरोस् । अल्लाह तिम्रो निम्ति सुविधा चाहन्छ कठोरता चाहदैन । उसले चाहन्छ कि तिमीले (व्रतको) गिन्ती पूरा गर र अल्लाहले मार्गदर्शन गरेवापत उसको प्रशंसा वर्णन गर, ताकि उसप्रति कृतज्ञ बन्न सक ।
१८६) (हे पैगम्बर !) जब तपाईसित मेरा भक्तहरूले मेरो बारेमा प्रश्न गरुन, तपाई तब भनिदिनुस् कि म (अल्लाह) तिम्रो धेरै नजिक छु मलाई पुकार्ने प्रत्येक व्यक्ति जहिले पुकार्दछ म स्वीकार गर्दछु । तसर्थ तिनीहरूलाई पनि यो आवश्यक छ कि मेरो आदेशलाई मानुन् र ममाथि आस्था राखुन् ताकि सत्य बाटो पाउन सकुन् ।
१८७) रोजाको (व्रतको) रात्रीमा तिमीलाई आफ्नो स्वास्नीसित सहवासको अनुमति दिइएको छ । तिनीहरू तिम्रा वस्त्र हुन् र तिमीहरू उनका वस्त्र हौ । अल्लाहलाई त्यस कुराको जानकारी छ जुन कि तिमीहरूले गोप्य रूपले गर्दथ्यौ । (तसर्थ) उसले तिमीमाथि कृपा गरी तिम्रो क्षमायाचना स्वीकार गरी तिम्रो क्रियाकलापहरूलाई क्षमा गरिदियो अब तिमीलाई सहवासगर्ने र अल्लाहले जे निर्धारित गरेको छ त्यस चीजको खोजी गर्ने इजाजत छ । तिमीले तबसम्म खान पीन गर जबसम्म कि प्रातःको सेतो धर्को (रातीको) कालो धर्कोबाट स्पष्ट भई नजाओस् । (फेरि व्रतबसी) साँझसम्म रोजा पूरा गर र जब तिमी मस्जिदहरूमा एतिकाफ (एकान्तमा उपासना) को लागि बसेका हुन्छौ, तब आफ्नो स्त्रीसित सहवास नगर । यी अल्लाहबाट निर्धारित गरिएका सीमा हुन्, तिनीहरू छेउ पनि नजानु । यस्तै किसिमले अल्लाह आफ्ना श्लोकहरू मानिसहरूलाई स्पष्टरूपमा वर्णन गर्दछ, ताकि तिनीहरू आत्मसंयमी बनुन् ।
१८९) (हे मुहम्मद !) मानिसहरूले तपाईसँग चन्द्रको (घट–बढ) बारेमा सोध्छन्, भनिदिनु कि यो मानिसहरूको (पूजा) समय र हजको समय पत्ता लगाउने माध्यम हो । र नेकी (पुण्य) यो होइन कि तिमी घरहरूको पछाडिबाट प्रवेश गर्नेगर, बरु नेकीवाला त्यो हो जो आत्मसंयमी हुन्छ, र घरहरूमा तिमी मूल ढोकाहरूबाट प्रवेश गर्नेगर र अल्लाहसँग डर मान्ने गर ताकि तिमी सफल हुन सक ।
१९०) तिमीहरूमध्ये जो मानिसहरू तिमीसँग लडाई गर्न खोज्छन्, तिनीहरूसँग तिमी पनि अल्लाहको मार्गमा संघर्ष गर, तर सीमा ननाँघ्नु, किन भने सीमा अतिक्रमण गर्नेहरू अल्लाहलाई रुचाउँदैनन् ।
१९१) तिनीहरू जहाँ फेला पर्छन् त्यहीं मार र जहाँबाट तिनीहरूले तिमीहरूलाई निष्कासित गरेका छन्, त्यहाँबाट तिमीहरूले पनि तिनीहरूलाई निकाली हाल, (र सुन) दंगा मच्चाउनु, रक्तपातभन्दा पनि गम्भीर हुन्छ र जबसम्म तिनीहरूले तिमीहरूसित मस्जिदे हराम (खानए कअ्बा) को नजिकमा आई संघर्ष गर्दैनन् तबसम्म तिमीहरूले पनि त्यहाँ तिनीहरूसँग संघर्ष नगर, तर हो ! यदि तिनीहरूले तिमीहरूसित युद्ध गर्दछन् तब तिमीहरूले पनि तिनीहरूसंग युद्ध गर । अनास्थावानहरूको लागि बदला यही हो ।
१९३) तिनीहरूसँग त्यस बेलासम्म संघर्ष गर्दै गर्नु जबसम्म कि उपद्रव समाप्त हुँदैन । र धर्म अल्लाहको निम्ति (प्रतिष्ठित) नभई जाओस् । र यदि तिनीहरू संघर्षको परित्याग गर्दछन् (भने तिमी पनि परित्याग गरिहाल), किनकि अत्याचारी बाहेक अरु कसैमाथि अत्याचार गर्नु हुँदैन ।
१९४) सम्मानको (हरामको) महीना सम्मानित महीनाको साटो छ र सम्मानका कुराहरू एक अर्काको बदला सरह हुन् तसर्थ यदि कसैले तिमीमाथि अतिक्रमण गर्छ भने जुन किसिमको अतिक्रमण त्यसले गर्दछ, त्यस्तै तिमीले त्यसमाथि गर र अल्लाहसित डर, यादराख कि अल्लाह डर मान्नेहरूको साथमा छ ।
१९६) अल्लाहको लागि हज र उमरा सम्पन्न गर, हो, यदि तिमीहरूलाई रोकियोस् तब जस्तो किसिमको बलि गर्न सक्छौ, गरिहाल । जबसम्म बलि आफ्नो ठाउँमा पुग्दैन, तबसम्म आफ्नो कपाल नफाल तर यदि तिमीहरूमध्ये कोही बिरामी छ, अथवा त्यसको टाउकोमा कुनै प्रकारको व्यथा छ, (र मुन्डन गराइदिन्छ) त त्यसको बदलामा व्रत बसोस् वा दान गरोस् वा कुर्बानी (बलि) गरोस् । फेरि जब तिमी अमनको अवस्थामा रहँदा (तिमीहरूमध्ये) जसले उमराको बेलादेखि हजसम्म लाभान्वित हुन चाहन्छ उसमा क्षमता छ भने कुर्बानी गरोस् र जसलाई कुर्बानी गर्ने क्षमता छैन उसले तीन दिनको उपवास हजका दिनहरूमा पूरा गरोस् र सात दिनको रोजा आफ्नो घर फर्केपछि । यी पूरा दश दिन भए । यो आदेश ती मानिसहरूको लागि हो जो मक्काका बासिन्दा होइनन् । अल्लाहसँग डर्नेगर, र यादराख कि, अल्लाह कठोर सजाय दिनेवाला छ ।
१९७) हजका महिनाहरू निर्धारित छन् । तसर्थ यदि कुनै मानिसले यी महिनाहरूमा हजको नीयत गरिसकेको छ, भने उसले (हजका दिनहरूमा) स्वास्नीहरूसँग सहवास नगरोस् र न कुनै नराम्रो काम गरोस् र न कुनै मानिससँग झगडा गरोस् । र तिमीले जुन नेक काम गर्नेछौं, त्यो अल्लाहलाई थाहा हुनेछ । र आफ्नो साथमा यात्राको खर्च लिई हिंड । किनभने सबभन्दा राम्रो बाटो खर्च त अल्लाहको डर हो, हे बुद्धिमानहरू ! मसँग डर्नेगर ।
१९८) तिमीमाथि (हजका दिनहरूमा व्यापारको माध्यमबाट) आफ्नो जीविका प्राप्त गर्नुमा केही पाप छैन । जब तिमीहरू अरफातबाट फर्कन्छौ, तब ‘‘मश्अरुल हराममा’’ (मुजदलेफामा) अल्लाहलाई स्मरण गर, र उसको स्मरण त्यसरी गर जसरी उसले तिमीहरूलाई आदेश गरेको छ यद्यपि यसभन्दा अगाडि तिमीहरू बाटो विराएका थियौ ।
२००) फेरि जब हजका सबै आधारहरू (कार्यहरू) पूरा गरिसकेका हुन्छौ, तब (मेनामा) अल्लाहलाई स्मरण गर, जुन किसिमले तिमीहरू आफ्ना पुर्खाहरूलाई स्मरण गर्ने गर्दथ्यौ, बरु त्योभन्दा पनि बढी । केही मानिसहरू यस्ता छन् जो कि विन्ति गर्दछन् कि हे पालनकर्ता ! हामीलाई यस संसारमा (उत्तम कुराहरू) प्रदान गर, र यस्ता मानिसहरूको लागि आखिरतमा कुनै अंश हुँदैनयौ ।
२०१) र उनीहरूमध्य केही यस्ता छन् जो कि प्रार्थना गर्दछन् कि हे पालनकर्ता ! हामीलाई संसारमा पनि नेकी प्रदान गर, र आखिरतमा पनि पुण्य प्रदान गर र नर्कको कष्टबाट रक्षा गर्नु ।
२०३) र अल्लाहको स्मरण गर, गणनाका दिनहरूमा (तीन दिन) । यदि कसैले छिटो गर्दछ (र) दुई (एघार, बाह्र) दिनमै हिंडिहाल्छ भने त्यसलाई कुनै गुनाह (पाप) छैन । र जो पछि (तेह्र तारिखसम्म) बसिरहन्छन्, तिनीमाथि पनि कुनै गुनाह छैन, यी त्यो मानिसको लागि हुन् जो परहेजगार होस् । अल्लाहसित डर्दैगर, र जानिराख तिमीहरू उसैछेउ जम्मा गरिने छौ ।
२०४) केही मानिस त यस्ता पनि छन् जसका कुरा सांसारिक जीवनको बारेमा तिमीलाई आकर्षक लाग्छ र उसले आफ्नो अन्तरात्माको कुरामाथि अल्लाहलाई साक्षी बनाउँछ, तर त्यो अत्यन्त झगडालु छ ।
२१०) के मानिसहरूलाई यस कुराको प्रतिक्षा छ कि तिनीहरू समक्ष अल्लाह आफैं बादलका छानाहरू चिरेर उतरी हालोस् र फरिश्ताहरू पनि र काम पूरा गरिहालियोस् ? र, सबै कामहरू अल्लाहकहाँ नै फर्कनेछन् ।
२११) (हे मुहम्मद !) इस्राईलका सन्ततिसित सोध कि हामीले तिनीहरूलाई कति स्पष्ट निशानीहरू प्रदान गर्यौं । र जुन मानिस अल्लाहको उपहार आफ्नो छेउ आईपुगेपछि परिवर्तित गर्दछ, (तब जानी राखोस्) कि अल्लाह कठोर सजाय दिनेछ ।
२१२) अनास्थावानहरूको निम्ति सांसारिक जीवन अत्यन्त आकर्षणपूर्ण गरिएको छ, तिनीहरूले मोमिनहरूको उपहास गर्छन्, जबकि परहेजगारहरू कियामतको दिन तिनीहरूभन्दा श्रेष्ठ हुनेछन् । अल्लाह जसलाई चाहन्छ धेरै मात्रामा जीविका प्रदान गर्दछ ।
२१३) (सबै) मानिसहरू एउटै सम्प्रदायका थिए । अल्लाहले शुभसन्देश दिन र भय सुनाउन सन्देशवाहकहरू पठायो, र तिनीहरूमाथि सच्चा ग्रन्थहरू उतार्यो जसबाट मानिसहरूबीचका सबै विवादहरूको निर्णय हुन सकोस् ! र, यसमा विवाद पनि आपसी शत्रुता र डाहको कारणले तिनै मानिसहरूले खडा गरे जसलाई किताब प्रदान गरिएको थियो, तिनीहरूसम्म स्पष्ट तर्कहरू आइसके पछि पनि विवाद उठाए । यसको लागि अल्लाहले आफ्नो इच्छा अनुसार त्यस विवादमा पनि मोमिनहरूलाई सत्यमार्गतर्फ मार्गदर्शन गर्यो र अल्लाह जसलाई चाहन्छ सोझो बाटो देखाइदिन्छ ।
२१४) के तिमी यस भ्रममा छौ कि स्वर्गमा पुगिहाल्छौ, जबकि तिमीलाई अहिलेसम्म पहिलेका मानिसहरूको जस्तो अवस्था आएकै छैन । तिनीहरूलाई (ठूला) कठिनाई र दुःख भोग्ने भयले कंपाइयो र तिनीहरूलाई यतिसम्म सताइयो कि रसूल र उहाँका साथीहरूले भन्न थाले कि अल्लाहको मद्दत कहिले आउँला । हेर ! अल्लाहको सहायता एकदम नजिक छ ।
२१५) तपाईसंग सोध्छन् कि कुन किसिमको सम्पत्ति खर्च गरुन् । तपाई भनिदिनुस् कि जुन धन तिमी खर्च गर्नेछौं त्यो आमा–बाबु, नजिकका नातेदार, अनाथ, गरिब र यात्रुहरूको लागि छ । र जुन उपकार तिमीले गर्नेछौ, निःसन्देह त्यो अल्लाहलाई थाहा छ ।
२१६) तिमीहरूमाथि धर्मयुद्ध गर्नु अनिवार्य गरिएको छ, त्यो तिमीलाई कठिन लाग्न सक्छ । सम्भव छ तिमीलाई कुनै कुरा नराम्रो लागोस् तर वास्तवमा तिम्रो लागि त्यो हितकर हुनेछ, र यो पनि सम्भव छ कि तिमीले कुनै कुरालाई राम्रो सम्झ तर तिम्रो निम्ति त्यो हानिकारक हुनेछ । (यी कुराहरूको) वास्तविकताको जानकारी अल्लाहलाई छ तिमीहरू बुझ्दैनौ ।
२१७) मानिसहरू तपाईसित युद्ध निषेधित महीनाहरूमा युद्धको सम्बन्धमा सोध्छन् । तपाई भनिदिनुस् कि यिनमा युद्ध गर्नु ठूलो पाप हो । तर अल्लाहको मार्गबाट रोक्नु, त्योसित कुफ्र गर्नु र मस्जिदे हराम (खान–ए–कअ्वा) मा जानुबाट मनाही गर्नु र त्यहाँ बस्नेहरूलाई त्यहाँबाट निस्कासित गर्नु अल्लाहको सामु त्यो भन्दा ठूलो पाप हो । तथा फित्ना (उपद्रव) रक्तपात भन्दा पनि ठूलो अपराध हो । यी मानिसहरू सधैं तिमीसित लडाई झगडा गर्दैरहने छन्, यहाँसम्मकि यदि क्षमता भएको खण्डमा तिमीलाई तिम्रो धर्मबाट विचलित पनि गराइदिन्छन् । र तिमीहरूमध्येबाट जुन मानिस आफ्नो धर्मबाट विचलित भई अनास्थावान हुन पुग्दछन् र सोही अवस्थामा मर्दछन, त यस्ता मानिसहरूका साँसारिक र परलौकिक सबै कर्महरू नष्ट भएर जानेछन् र यी मानिसहरू नर्कका बासी हुनेछन्, जसमा सधैं रहने छन् ।
२१८) हो आस्था ल्याउनेहरू, र अल्लाहको मार्गमा आफ्नो घर–देश छोडी जानेहरू र अल्लाहको मार्गमा जेहाद (धर्म–युद्ध) गर्नेहरू अल्लाहको कृपाको हकदार हुन् । अल्लाह अत्यन्त क्षमा गर्नेवाला दयावान हो ।
२१९) (हे पैगम्बर) मानिसहरूले मदिरा र जुवाको कानूनको सम्बन्धमा सोध्छन् । भनिदिनुस् यी ठूला पापकर्महरू हुन् र मानिसहरूका लागि यिनबाट केही सांसारिक फाइदा पनि छन्, तर तिनका हानिहरू(पाप) फाइदाभन्दा धेरै ठूला छन् । यो पनि तपाईसित सोध्छन् कि अल्लाहको मार्गमा कुन सम्पति खर्च गरुन् ? तपाई भनिदिनुस् कि (जुन माल) आवश्यकताभन्दा बढी छ । यसप्रकार, अल्लाह आफ्ना आदेशहरू स्पष्टरूपमा तिम्रो लागि वर्णन गर्दछ ताकि तिमीहरू सम्झने बुझ्ने गर ।
२२०) दुनियाँ र परलोकको कुराको सम्बन्धमा, र अनाथहरूको बारेमा पनि सोध्छन्, तपाई भनिदिनुस् कि जसमा तिनीहरूको (आर्थिक) सुधार होस्, त्यो नै राम्रो छ । तिमीहरूले उनीहरूको माल आफ्नो मालसंग भण्डारण गर्नुमा पनि केही हर्ज छैन । किनभने तिनी तिम्रा दाजुभाइहरू हुन् । असल नीयत र बदनीयतलाई अल्लाह राम्ररी बुझ्दछ । यदि अल्लाहले चाहेको भए तिमीलाई कष्टमा पार्न सक्दथ्यो । निःसन्देह अल्लाह सक्षम र सर्वशक्ति सम्पन्न छ ।
२२१) (मोमिनहरू!) अनास्थावान स्त्रीलाई पत्नी नबनाउनु (विवाह नगर्नु) जबसम्म कि तिनी आस्थावान हुँदैनन् । किनभने आस्थावान दासी पनि अनास्थावान स्वतन्त्र स्त्रीभन्दा उत्तम हुन्छे, तिमीलाई अनास्थावान स्त्री राम्री लागे पनि, र मुश्रिक लोग्ने मान्छे, जबसम्म कि अल्लाहमाथि ईमान ल्याउँदैन, उससंग आफ्ना मोमिना (मुस्लिम आइमाईहरू)को विवाह नगर्नु । किनभने मुश्रिक लोग्ने, तिमीलाई चाहे जति राम्रो लागे पनि, त्योभन्दा मोमिन दास राम्रो छ । यिनीहरू नर्कतिर निम्त्याउँछन् र अल्लाह स्वर्ग र आफ्नो उपकारतिर आफ्नो आदेशले बोलाउँदछ र आफ्नो आदेश मानिसहरूसित खुलस्त रूपमा वर्णन गर्दछ ताकि उनीहरू सही चेतना प्राप्त गर्न सकुन् ।
२२२) तपाईसित रजस्वलाबारे सोध्छन् । भनिदिनु कि त्यो अपवित्र (रक्त) हो । तसर्थ रजस्वलाको समयमा स्वास्नीबाट अलग रहनु र जबसम्म तिनीहरू पवित्र हुँदैनन्, तिनको नजिक (सम्भोगको लागी) नजानु । हो, जब तिनी पवित्र हुन्छन्, तब तिमी उनको नजिक जाऊ जुन ठाउँबाट अल्लाहले तिमीलाई जाने आदेश गरेको छ । निःसन्देह अल्लाह क्षमायाचना गर्नेलाई र पवित्र रहनेलाई प्रेम गर्दछ ।
२२३) तिम्रा स्वास्नीहरू तिम्रा खेती हुन्, तसर्थ आफ्नो खेतीमा जुन तरिकाले चाहन्छौं, जाऊ र आफ्नो निम्ति नेक कर्म अगाडि पठाऊ र अल्लाहसित डर मान्नेगर र जानिराख कि (एकदिन) तिमीहरू उसलाई भेट्ने छौ । र आस्थावानहरूलाई शुभसन्देश सुनाइदिनु ।